मकवानपुर, २९ पुस । मकवानपुरको भीमफेदी गाउँपालिले आफ्नो पालिकाभित्र कृयाशील सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभिका आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्दै आएका ४८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई उक्त कार्यक्रममा सहभागि गराउन लागेको हो ।

गाउँपालिकाले सोहि सन्दर्भमा पालिकाभित्र क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अनुशिक्षण कार्यक्रम गरेको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा पालिकाभित्र आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्दै आएका ४८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा, प्रक्रिया, लाभ तथा दीर्घकालीन सुरक्षा व्यवस्थाबारे जानकारी गराइएको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष लामाका अनुसार पालिकामा कार्यरत सम्पूर्ण ४८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा यातायात र निर्माण क्षेत्रका ५२ जना गरि एकसाय जनालाई केही दिनमै सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने छ । यसका लागि आवश्यक योगदान रकम पालिकाले सहयोगदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । स्थानीय तहबाट स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सामाजिक तथा आर्थिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष लामाले बताउनुभयो ।
कार्यक्रमले स्वयंसेविकाहरूको मनोबल वृद्धि हुनुका साथै सेवाप्रति थप प्रेरणा मिल्ने विश्वास गरिएको उहाँको भनाई छ । अनुशिक्षण कार्यक्रममा सहभागी स्वयंसेविकाहरूले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउँदा भविष्य सुरक्षित हुने र सेवाप्रति थप उत्साह बढ्ने प्रतिक्रिया दिएका छन् । यसअघि गाउँपालिकाले देशमै पहिलो पटक पालिकाभित्रका १९७ जना अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराई सकेको छ । याेसंगै भीमफेदी गाउँपालिकामा अनाैपचारिक क्षाेत्रका श्रमिक र महिला स्वास्थ्य स्वयसेविका गरि सामाजिक सुरक्षाकाेषमा आबद्ध हुनेकाे संख्या २९७ पुग्नेछ । भीमफेदी गाउँपालिकाले नेपालमै पहिलाे पटक अनाैपचारिक क्षेत्रका श्रमिकहरूलाइ सामाजिक सुरक्षाकाेषामा आबद्ध गराएकाे हाे ।