मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकले कांग्रेस संसदीय दलको निर्णयलाई मान्यता दिने निर्णय गरेको छ । संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा बुधबार हेटौंडामा बसेको बैठकले कांग्रेस पार्टीसंग सहकार्य भएकाले संस्थागत निर्णयलाई मान्यता दिने निर्णय गरेको हो ।

बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै एमालले पछिल्लो राजनीतिक घटनाक्रम, दलगत समीकरण तथा बागमती प्रदेश सरकारको स्थायित्वबारे विभिन्न निर्णय गरेको छ । एमाले र नेपाली कांग्रेसबीच बागमती प्रदेशमा बनेको सहकार्यको सम्बन्धमा विज्ञप्ती मार्फत स्पष्ट गर्दै भनिएको छ, ‘यो सहकार्य कुनै व्यक्तिको निजी सम्बन्धको कारण होइन, दलगत सहमतिमा आधारित छ ।’ त्यसैले कांग्रेस संसदीय दलको निर्णयलाई नै आधिकारिक मानेर अघि बढिने बैठकले स्पष्ट पारेको छ । ’
बैठकले कांग्रेस संसदीय दलभित्र देखिएको नेतृत्व विवादलाई उक्त दलको आन्तरिक प्रक्रिया भन्दै त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुने स्पष्ट नीति लिने जनाएको छ । कांग्रेसभित्र उत्पन्न विवाद प्रजातान्त्रिक प्रक्रियामार्फत छिटो समाधान होस् भन्ने सुझाव दिँदै एमालेले उक्त विषयमा कुनै अभिव्यक्ति वा क्रियाकलाप नगर्ने निर्णयसमेत गरेको छ ।
बैठकले पछिल्लो दिनहरुमा सामाजिक सञ्जाल र केही माध्यमबाट कांग्रेस दलभित्रको समीकरण परिवर्तन गर्न एमाले मन्त्रीहरूको भूमिका रहेको भन्दै गरिएको प्रचारप्रति आपत्ति जनाउँदै एमाले मन्त्रीहरू समीकरण परिवर्तनमा संलग्न छन् भन्ने आरोपहरू पूर्णतः आधारहीन, निराधार र असत्य नरहेको र त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै बैठकले हालै सम्पन्न एमाले केन्द्रीय कमिटीको नवौं बैठकमा भएका निर्णयहरूलाई पूर्ण समर्थन गर्दै ती निर्णयहरूको अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । भने, संगठनात्मक अनुशासन, विचारको स्पष्टता र रणनीतिक एकतामा जोड दिँदै अगाडि बढ्ने निर्णय गरेको छ ।
बैठकले कृषिको मुख्य सिजनमा बजारमा देखिएको रसायनिक मलको अभावलाई गम्भीर रूपमा लिँदै संघीय सरकारसँग तुरुन्तै मल आपूर्ति सुनिश्चित गर्न आग्रह गर्ने निर्णय गरेको छ । भने, नेकपा एमाले बागमती प्रदेश संसदीय दलले लोकतान्त्रिक मूल्य, स्थायित्व, सुशासन र जनताको हितमा अग्रसर भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।