मकवानपुर । मकवानपुरमा छुट्टा छुट्टै दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । बिहीबार राति स्कुटरको ठक्करबाट एक बृद्धको र करेन्ट लागेर एकजना गरि दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार राती ८ः२० बजेको समयमा बा प्र ०३–०४ प ९५२६ नम्बरको स्कुटरको ठक्करबाट हेटौँडा–१६, हटियाका ७६ वर्षीय अनिरुद्र बस्ताकोटीको मृत्यु भएको हो । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका बास्ताकोटीको उपचारको क्रममा बिहीबार राती १०ः५५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । बृद्धलाई ठक्कर दिने स्कुटर चालक हेटौँडा–१७, ठुलोगँगटेका २७ वर्षीय सन्दिप थापा पनि घाइते भई हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।
यस्तै शुक्रबार विहान करीब ०८ः४० बजेको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटारका अन्दाजी ५५ वर्षिया भुमिनन्द तिमल्सिनाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घर सरसफाई गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका तिमल्सिनालाई उपचारकोलागी हेटौडा अस्पताल ल्याईएकोमा उनको उपचारको क्रममा बिहान ९ः२२ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक तिमल्सिनाको शव सोही अस्पतालमा रहेको र घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।