मकवानपुर । हेटौंडामा स्वीस नागरिक एवम् हेटौंडा शहरको परिकल्पनाकार भूगर्भविद् डा. टोनी हेगनको अर्धकदको शालिक अनावरण गरिएको छ । हेटौँडामा मानव वस्तीको परिकल्पना गर्नुभएका डा. हेगनको सम्मानमा हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–१० मा टोनी हेगन स्मृति पार्क निर्माण गरेको छ । सोहि पार्कमा निर्माणाधिन हेगनको अर्धकदको शालिक मंगलबार एक कार्यक्रमकाबीच अनावरण गरिएको हो ।

हेटौंडा–१० टिसिएन स्थित नेत्रज्योती टोलको १ बिगाह ४ कठ्ठा साढे १७ धुर जग्गामा गुरुयोजना अनुरुप टोनी हेगन स्मृति पार्क निर्माण भईरहेको छ । टोनी हेगनकी छोरी डा. क्याट्रिना हेगन नेपाल आएको अवसर पारेर शालिक अनावरण गरिएको डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चका अध्यक्ष ईन्द्रप्रसाद नेपालले जानकारी दिनुभयो । शालिक अनावरण कार्यक्रममा मेयर मिनाकुमारी लामा, निवर्तमान मेयर हरिबहादुर महतलगायतको सहभागिता थियो ।

हेटौँडाकै मूर्तिकार लक्ष्मण भुजेलले हेगनको अर्धकदको शालिक ६ लाख रुपैयाँ लागतमा निर्माण गर्नु भएको हो । टोनी हेगन पार्क निर्माणमा हालसम्म २ करोड ९ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको बताइएको छ । पार्क निर्माणमा हेटौँडा उपमहानगरपालिका, १० नम्बर वडा कार्यालय, बागमती प्रदेश सरकार मातहतका मन्त्रालयहरु, संघीय संसदको सांसद विकास कोष, हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड, प्रदेश सरकार मातहतको डिभिजन वन कार्यालयको बजेट खर्च गरिएको छ ।