हेटौंडा । नेपाल सरकारका गृह मन्त्री रमेश लेखक हेटौंडामा आयोजित निर्माण तथा व्यापार मेलाको उद्घाटन गर्नुभएको छ । मंगलबार हेटौंडा आएका मन्त्री लेखकले दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको औपचारिक उद्घाटन गर्नुभएको हो ।
निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडा–१० स्थित टिसीएन चाैरमा आयोजित उक्त महोत्सव आगामी १८ गतेसम्म चल्ने छ । पछिल्लो समय देशको निर्माण उद्योग क्षेत्र सरकारले समयमा कामको भुक्तानी नदिएका कारण लगायतले सिथिल हुँदा देशको अर्थतन्त्र अपेक्षाकृत चलायमान हुन नसकेको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिनुभएको छ ।
पछिल्लो समय निर्माण व्यवसाय सुस्ताएको अवस्थामा महोत्सवले उकास्न प्रोत्साहन गर्छ भन्ने अपेक्षाले मेलाको आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवबाट १ करोड १७ लाख रुपैंया आम्दानी हुने आंकलन गरिएको उहाँको भनाई छ । महोत्सवमा ३०० वटा स्टलहरु मार्फत निर्माण क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरणहरु र निर्माण सामाग्रीहरुको प्रदर्शनी, बिक्री र प्रदर्शनी गरिएको छ ।