हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि सहिदहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । हेटौंडा ११ स्थित शहीद स्मारकमा आयोजित शहीद दिवस २०८१ समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले शहीदहरुको बलिदानको कारण नै देश गणतन्त्रात्मक शासन व्यवस्थामा पुगेको बताउनुभयो ।

प्रदेश प्रमुख देवकोटाले नेपालीहरु मानव इतिहासकै अधिकतम स्वतन्त्रताको युगमा रहेको बताउनुभयो । विगतमा नपाएको मौलिक र मानव अधिकारको उपयोग वर्तमान व्यवस्थामा गर्न पाएको उहाँको भनाई छ । प्रदेश प्रमुख देवकोटाले न्याय, स्वतन्त्रता, अस्तित्व र गौरवका लागि अमुल्य जीवन उत्सर्ग गर्ने वीर सहीदहरूलाई सधै स्मरण गरिरहनुपर्ने बताउनुभयो । उहाँले सहीदहरूको त्यागलाई सहिद सप्ताह र सहिद दिवसमा मात्र सिमित नराखी मुलुकको समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसैगरी समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र गणतन्त्र स्थापनामा शहीदहरुको ठुलो योगदान रहेको बताउनुभयो । शहीदहरुको सम्मानमा शहीद स्मारकको पनि महत्वपूर्ण भुमिका रहेको उहाँको भनाई छ । मुख्यमन्त्री लामाले इतिहास झल्काउने पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवं स्मारक विकास समितीका अध्यक्ष डोरमणी पौडेलले सहिदको योगदानले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै लानुपर्ने बताउनुभयो ।
यसैगरी सभामुख भुवन कुमार पाठकले १ सय ४ वर्षीय जहानीय राणाशासनको कालो कालखण्डलाई चिर्न शहीदहरुले ठुलो त्याग गरेकै कारण प्रजातन्त्र स्थापना भएको बताउनुभयो । सभामुख पाठकले शहीदहरुको बहादुरीकै कारण नेपाल कुनै पनि विदेशी राष्ट्रहरुको अधिनमा रहन नपरेको बताउनुभयो ।

बागमती प्रदेश सरकारको आयोजना र शहीद स्मारक विकास समितिको व्यवस्थापनमा कार्यक्रम भएको हो । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा स्मारक विकास समितिका सचीव रघुनाथ खुलालले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा समितिका संस्थापक एवम् पूर्व उपाध्यक्ष स्व.श्रीचन्द्र शर्माको स्मृतिमा स्थापित श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार २०८१ बाट कवि एवम् साहित्यकार तुलसी घिमिरेलाई सम्मानित गरिएको छ । त्यसअघि शहीद स्मारक गेटबाट प्रभातफेरीसहित स्मरक परिसर पुगेर प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख सहित प्रदेश सरकारका मन्त्रीहरु लगायतले सहिदहरुको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्नु भएको थियो ।