मकवानपुर । हेटौँडामा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छ्न । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ स्थित चुरियामाई मन्दिर नजिक आज बिहान करिब ९:१५ बजे भएको बस दुर्घटनामा१७ जना यात्रु घाइते भएका हुन ।

वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको  छ । दुर्घटनामा परेका सबै घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौँडा अस्पतालमा भर्ना गरिएको छ ।

घाइतेहरू मध्ये बारा कलैया उपमहानगरपालिका-२३ का ३२ वर्षीय सुरेन्द्र शर्मा, भारतीय नागरिक ४१ वर्षीय रन्जन कुमार सिंह लगायत रहेका छन्। विशेषगरी बारा पर्सैनि गाउँपालिका-३ की ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर रहेको प्रहरीले बताएका छन्  जनाएको छ।

घाइतेहरूमा भारतीय तथा नेपाली नागरिकहरू रहेका छन्, जसमध्ये धेरैजसोको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रातमाटे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नवीन विक्रम थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी उद्धार कार्य गरेको थियो । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।