हेटौंडा । त्रिभुवन राजपथ निर्माण हुनुअघि हेटौंडाको चौकीटोलदेखि भैंसे,भीमफेदी,चित्लाङ र चन्द्रागिरीमा दर्जनौँ पाटी र पौवा निर्माण गरिएका थिए । बटुवालाई बास बस्न र आराम गर्नका लागि ती पाटी र पौवा बनाइएका थिए ।

त्रिभुवन राजपथ बन्नुअघि हेटौंडाको चौकीटोल, भैंसे,भीमफेदी, चित्लाङ र चन्द्रागिरी हुँदै काठमाडौं उपत्यका आवतजावत गर्ने गर्थे । उपत्यका प्रवेश र हेटौंडालगायत तराई क्षेत्र एवं भारततर्फ जाने मुख्य नाका यही थियो । उपत्यकाबाट बाहिरिने र भित्रिने बटुवा २४सै घण्टा हिँड्थे । राजपथ निर्माण भएपछि पैदल हिँडेर उपत्यका आवतजावत गर्ने प्रचलन पनि हरायो र पाटी पौवाको संरक्षणको अभावले नासिएर गए । अहिले पुरातत्व विभागले चित्लाङ—९ मा रहेको नयाँ पौवा अर्थात पाटीको मर्मत सम्भार गरेर चिटिक्क बनाएको छ ।

थाहा नगरपालिका ९ चित्लाङमा रहेको करिब ५० हात लम्बाइ भएको पाटी चन्द्र शमशेर राणाको पालामा कलात्मक किसिमले निर्माण गरिएको थियो । संरक्षणको अभावमा उक्त पाटीका चारै सुर भत्किनुको साथै सर्प र मुसाको घर बनेको थियो । केही वर्ष उक्त पाटीमा प्रहरी बसेर गाउँको सुरक्षा पनि गरे । २०७२ सालको भूकम्पले चिरा, चिरा बनाएको उक्त पाटीको पुरातत्व विभागले करिब ३ करोड रुपैयाँ खर्च गरेर जीर्णोद्धार गरेको छ । जीआर कन्स्ट्रक्सन निर्माण कार्य गर्नुअघि क्षमापूजा गरेर जीर्णोद्धारको कार्य प्रारम्भ गरेको थियो ।

तीनवटा गजुर भएको शिवालय पनि पाटी नजिकमै भएको र पाटीभित्र नाग र मुसा रहेकाले क्षमा पूजा गरेर काम सुरु गरेको निर्माण व्यवसायी धर्म महर्जनले बताए । हेटौंडाको चौकीटोलदेखि चन्द्रागिरीसम्ममा रहेका करिब ३ दर्जनभन्दा बढी पौवा रहेका थिए ।

अधिकांश पाटी पौवा संरक्षणको अभावले भत्किइसक्यो तर यो पाटीको पुरानै अवस्थामा पुनर्निर्माण गरिएको स्थानीयवासी बुद्धरत्न मानन्धरले बताए । ‘यो पाटी अहिले त्यतिबेलाको बटुवा आवतजावत गर्ने जिउँदो इतिहासको साक्षी बन्न पुगेको छ,’ उनले भने । कान्तिपुरबाट ।