file photo

बागमती प्रदेशमा करीब ७२ हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्ध खोप लगाइएकाे छ । गाईभैँसीमा लाग्ने लम्पी स्किन संक्रमणविरुद्ध साताव्यापी खोप अभियान सञ्चालन गरिएको बागमती प्रदेशमा ७१ हजार ९८७ गाईभैँसीलाई खोप लगाइएको हाे ।

अभियानअन्तर्गत प्रदेशका १३ जिल्लाका ७६ हजार २७५ गाईभैँसीमा खोप लगाउने लक्ष्य लिइएकोमा जम्मा ७१ हजार ९८७ गाईभैंसीलाई खोप लगाइएको हो । अभियानका लागि ३७६ जना भ्याक्सिनेटरलाई परिचालन गरिएको थियो ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लक्ष्यभन्दा करिब चार हजार कम खोप लगाइएको जानकारी दिएको छ । मन्त्रालयका पशुपन्छी विकास महाशाखाका पशु सेवा अधिकृत डा. सन्तोष अधिकारीले साउन २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा लक्ष्यभन्दा कम गाईभैँसीमा खोप लगाइएको बताउनुभयाे । उहाँका अनुसार प्रदेशको १३ वटा जिल्लामा ३६ हजार ९१४ वटा गाईवस्तु, १० हजार ११३ बाच्छाबाच्छी, १६ हजार ७३८ राँगाभैँसी र आठ हजार २१२ पाडापाडीमा खोप लगाएको छ ।

जिल्लागत काठमाडौंमा पाँच हजार १३६, ललितपुरमा दुई हजार १४५, भक्तपुरमा ६९४, धादिङमा सात हजार ४९२, काभ्रेमा आठ हजार ५१३, नुवाकोटमा आठ हजार ४८, रसुवामा चार हजार ४१० वटा गाईभैँसीमा खोप लगाइएको छ । यसैगरी, सिन्धुली जिल्लामा पाँच हजार ४३७, रामेछापमा चार हजार २२२, दोलखामा सात हजार २८७, सिन्धुपाल्चोकमा एक हजार ३०२, चितवनमा १० हजार २७९ र मकवानपुरमा सात हजार १२ वटा गाईभैँसीमा खोप लगाइएको पशु सेवा अधिकृत अधिकारीले बताउनुभयाे ।

वर्षातको समय र भौगोलिक विकटताका कारण खोप अभियानले लक्ष्य भेट्न नसकेको अधिकारीको भनाइ छ । लम्पी संक्रमण भएका गाईभैँसीको मृत्युदर ३.१ प्रतिशत र दुध उत्पादनमा ८० प्रतिशतसम्म कमी आउने गरेको उहाँले जानकारी दिनुभयाे । पशु सेवा अधिकृत अधिकारीले गत आवमा लम्पी संक्रमणबाट प्रदेशमा ११ हजारभन्दा बढी गाईभैँसीको मृत्यु भएपछि यस वर्ष प्रदेशमा संक्रमण फैलिन नदिन खोप अभियान सञ्चालन गरेको बताउनुभयाे ।