मुलुकको नयाँ प्रधानमन्त्रीमा दाबी गर्नु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गर्नु भएकाे छ । नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गर्नु भएकाे छ ।

पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिनु भएकाे छ । राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने भएको हो । ‘भोलि दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयाे ।

स्रोतका अनुसार, आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नु हुनेछ । ‘आइतबार अबेर हुने भएकाले सोमबार बिहान ११ बजे शपथ लिने तयारी छ’, उक्त स्रोतले भन्यो ।

ओलीले प्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिनु हुनेछ । सोमबार नै अरु मन्त्रीहरुलाई पनि शपथ गराउने तयारी भइरहेको छ । ‘संभवतः १५ जनाको मन्त्रिपरिषद् सोमबार नै गठन हुन्छ, त्यसैको तयारी भइरहेको छ’, स्रोतले भन्यो ।