मकवानपुर । नेकपा एमालेका प्रमुख सचेतक एवम् मकवानपुर क्षेत्र नबर–२ का सांसद महेश कुमार बतौलाले हेटौँडा सिमेन्ट उद्योग संचालनका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताउनुभएको छ । बिहिबार हेटौँडा सिमेन्ट उद्योगको निरिक्षणका क्रममा उहाँले उद्योग सञ्चालनका लागि राज्यको अभिभावक्तवसंगै जिल्लाका राजनैतिक दल तथा अन्य सरोकारवालाको साझा प्रयत्न जरुरी रहेको बताउनुभएको हो ।
तत्कालका लागि उद्योग संचालन गर्न केही रकम राज्यका तर्फबाट लगानी गर्नुपर्ने र उद्योग तथा उत्पादन क्षेत्रमा राजनीति गर्न नहुने उहाँको भनाई थियो । उहाँले हेटौँडा सिमेन्ट उद्योग संचालनका लागि पहल गर्ने पनि बताउनुभयो । उद्योगमा थप आर्थिक लगानी गर्नुपर्ने परिस्थिति रहेकाले सरकारले त्यसतर्फ ध्यान दिन जरुरी रहेको र उद्योगलाई निरन्तरता संचालन हुने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उद्योगको दीर्घकालीन संचालनका लागि नयाँ मोडलमा अघि बढ्नु पर्ने उहाँको धारणा थियो । उद्योग संचालनको मोडल तयार पार्नेगरी प्रयत्न भइरहेको र उद्योगमा नयाँ प्रविधि जडान गरी संचालनका लागि लगानीसहितको प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतिको चरणमा रहेको उहाँले बताउनुभयो । अर्थ मन्त्रालयसँग १ अर्ब १२ करोड रुपैयाँ माग गरी दीर्घकालीन सोँचसहित योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।
‘३८ वर्ष पुरानो सिमेन्ट उद्योगको टेक्नोलोजीले उद्योग संचालन हुन सक्दैन । प्रविधि परिवर्तन गरेर निजी उद्योगसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्था बनाउनु पर्छ । पहिलो चरणमा ५०÷६० करोड रुपैयाँ लगानी गरेर उद्योग निरन्तर चल्ने र कर्मचारी तथा अवकास प्राप्त कर्मचारीको रकम भुक्तानी गर्नुपर्छ । अहिले अनिवार्य दायित्व मात्र पूरा गर्न सकेको खण्डमा ५÷७ महिना उद्योग राम्रोसँग संचालन हुन सक्छ । त्यसका लागि संघीय सरकारसँग स्रोत व्यवस्थापन गर्ने प्रक्रिया चलिरहेको छ ।’ उहाँले भन्नुभयो ।
सरकारले उद्योग संचालनको विकल्पका विषयमा छलफल गर्नुपर्ने उहाँको भनाई छ । बर्तौलाले सरकारले पहिलो प्राथमिकतामा २ अर्ब रुपैयाँ ऋणको व्यवस्था गरेर उद्योग संचालनको वातावरण बनाउनुपर्ने अथवा सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडलमा उद्योग संचालन गर्नुपर्ने बताउनुभयो । उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले उद्योग सञ्चालनका लागि संघीय संसदमा एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाको पहलकदमी महत्वपूर्ण रहेको बताउनुहुँदै आगामी दिनमा पनि उहाँको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगलाई व्यवस्थितरुपमा सञ्चालन गर्न आफूले आवश्यक समन्वय र सहकार्य गर्ने स्पष्ट पार्नुभएको छ ।