मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गरिएकाे छ । जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबीपत्र पेस गर्नुभएको हाे ।

जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत नपाएपछि प्रदेशप्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिनुभएको थियो ।

साेही बमाेजिम उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा दाबी पेस गर्नुभएको हो । यसअघि जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भए पनि जनमतले सिंहलाई अगाडि सारेको छ । मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका नौ, एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्ति पार्टीका एक गरी ५४ जना प्रदेशसभा सदस्यको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस भएको छ ।