मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६, जुरिखेतमा बुधबार भएको कार दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उहाँका तीन महिने छोरी अर्जिता र कार चालक काठमाण्डौं चन्द्रागिरी नगरपालिका– १ दहचोक बस्ने ६० बर्षीय सानु परियार रहेका छन् ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । दुर्घटनामा घाइते मनहरी–८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।