सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । खेल क्षेत्रकाे बजेटमा धेरैजसाे पुरानै याेजना समेटिएका छन् ।
आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ६० करोड रुपैयाँ विनियोजन भएको जानकारी दिनुभयो ।
यस्तै सरकारले चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशाला सङ्घ, प्रदेश र पालिकाको साझेदारीमा निर्माण कार्य अगाडि बढाउने भएको छ । यसैगरी सरकारले कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तराेन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिने बताएकाे छ । आउँदो वर्ष ८० वटा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता गर्ने सरकारले लक्ष्य लिएको छ ।
काठमाण्डौको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिने भएको छ । सरकारले शिक्षकलाई तालिम दिई विद्यालयमा खेल प्रवर्द्धन गरिने जनाएको छ ।