हेटाैंडा । बागमतीका सभामुख भुवनकुमार पाठकले १९ चैतमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासकाे मत माग्ने प्रयोजनका लागि बोलाएको बैठकमा अनुपस्थित हुन आफूलाई प्रस्ताव आएकाे दाबी गर्नु भएकाे छ । शनिबार चितवनमा भएकाे प्रदेशसभा सचिवालय र पत्रकारहरूबीचकाे अन्तर्क्रिया कार्यक्रममा उहाँले मुख्यमन्त्रीलाई २२ चैतभित्र विश्वासको मत लिन नदिन आफूलाई बैठकमा उपस्थित नहुन प्रस्ताव आएको बताउनु भएकाे हाे । ‘विश्वासकाे मतमा मलाई अनुपस्थिति हुन प्रस्ताव आएकाे थियाे । दबाब आएकाे थियाे । म अनुपस्थिति भए के हुन्थ्याे ? काेशीमा जस्तै घटना हुन्थेन ?’, पाठकले भन्नुभयाे ।
पाठकले उक्त प्रस्तावलाई अस्वीकार गरेकाे बताउँदै आफूले सभामुखको भूमिका निष्पक्ष रुपमा निर्वाह गर्ने बताउनुभयाे । आफू प्रदेशसभामा खेलाडी नभई एम्पायर भएकाे भन्दै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताउनुभयाे । उहाँले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा अनुपस्थित हुन कसले दबाब दियो भन्नेबारे भने खुलाउनु भएन ।
नेपाली कांग्रेसले २३ फागुनमा समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री जम्कट्टेलले संवैधानिक व्यवस्थाअनुसार जम्कट्टेलले ३० दिनभित्र अर्थात २२ चैतसम्ममा विश्वासकाे मत लिनुपर्नेछ । हाल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँग सहमति गरी प्रदेशसभामा बहुमत सांसदको समर्थन जुटाएका जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेकाे छ । तर २२ चैतसम्म उहाँलाई विश्वासको मत लिन अवरोध गर्न सभामुख अनुपस्थित भई बैठक नचल्ने वातावरण बनाइदिन प्रस्ताव आएको सभामुख पाठकको भनाइ छ ।
पाठकले आफू अनुपस्थित हुँदा सभा सञ्चालनकाे जिम्मेवारी उपसभामुख अप्सरा चापागाईंलाई जिम्मेवारी दिनुपर्ने हुन्छ । सभामुखले लिखित जिम्मेवारी नदिएसम्म उपसभामुखले बैठक चलाउन नसक्ने संवैधानिक व्यवस्था छ । सभामुख अनुपस्थित हुने र उपसभामुखलाई बैठक चलाउने जिम्मेवारी पनि नदिए बैठक नै नबस्ने वातावरण बन्न सक्छ । सभामुख पाठकले मुख्यमन्त्रीलाई विश्वासको मत लिन आफूले अवरोध नगर्ने बताउनु भयाे । ‘म एम्पायर हो खेलाडी होइन,’ ‘पार्टी नै अनुपस्थित भए पनि मैले निश्पक्ष भूमिका निर्वाह गर्छु‘, उहाँले भन्नुभयाे । अनलाइन खवरबाट ।