मकवानपुर — सडनडेथमा रोमाञ्चक जीत हात पार्दै न्यू रोड टीम (एनआरटी) काठमाडौं छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० को फाइनलमा प्रवेश गरेको छ । धनकुटाको राजारानी क्लबलाई सडनडेथमा १७–१६ गोलअन्तरको जीत निकाल्दै एनआरटी उपाधि नजिक पुगेको हो ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा निर्धारित समय र टाइब्रेकरको बराबरीपछि सडनडेथमा एनआरटी विजयी भएको हो । टाइब्रेकरमा ५–५ गोल भएको थियो । सडनडेथमा दुवै टिमका ११/११ खेलाडीको प्रहारमा १०/१० गोल भएपछि पुनः दोहोर्‍याएर प्रहार गरेका थिए । पहिलो पटकको प्रहारमा राजारानीका पिटर सेगुनको प्रहारलाई एनआरटीका गोलरक्षक प्रिसोले रोकेका थिए । सडनडेथमा एनआरटीका नरेन्द्र चौधरीको प्रहार बारमा लागेर फर्किएको थियो ।
दोस्रो पटकको प्रहारमा राजारानीका प्रवेश दनुवारको प्रहार बाहिरिँदा शिशिर लेखीको प्रहारलाई प्रिसोले रोकेका थिए । एनआरटीका माइकल गर्बुजाको प्रहारलाई एनआरटीका गोलरक्षक दीप कार्कीले रोकेका थिए । अन्तिममा मोहित गुरुङको प्रहार गोल भएसँगै एनआरटीले अन्तिम दुईमा स्थान पक्का गरेको हो ।
ट्राइब्रेकरमा विजयी टोलीका लागि प्रिसो, सरोज तामाङ, जय गुरुङ, विवेक गुरुङ र अभिषेक गुरुङले गोल गरेका थिए । धनकुटाको तर्फबाट रुपेश केसी, विशाल घलान, उमेश कार्की, अशोक खवास र दीप कार्कीले गोल गरेका थिए । टाइब्रकेर र सडनडेथमा गरी कुल ३८ वटा प्रहार भएको थियो ।
खेलको निर्धारित समयमा दुवै टोलीले केही राम्रो मुभ बनाएपनि गोल गर्न सकेनन् । खेलको ६७ औं मिनेटमा एनआरटीको सशक्त प्रहारलाई राजारानीका गोलरक्षक दीप कार्कीले सुन्दर बचावट गरे ।
धनकुटाका रुपेश केसीले ७६ औं मिनेटमा खाली पोष्टमा गोल गर्न चुके । एनआरटीका गोलरक्षक प्रिसो अघि बढेको मौकामा उनले डिबक्स नजिकैबाट प्रहार गरेको बलले गोलको दिशा लिन सकेन । अतिरिक्त समयमा एनआरटीका मोहित गुरुङले दुईजना डिफेण्डर छलाएर गरेको प्रहारलाई गोलरक्षक कार्कीले बचाए । एनआरटीका विदेशी खेलाडी ग्लोरिले खेलको २१ औं मिनेटमा प्रहार गरेको बल कार्कीले रोकेका थिए ।
एनआरटीले फाइनलमा बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा वाग्मती युवा क्लव सर्लाही र सशस्त्र प्रहरीको एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।
एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आफ्नो खेल जीवनकै स्मरणयोग्य टाइब्रेकर हेटौंडामा भएको बताए । उनले जीत खुसी व्यक्त गर्दै खेल अवधिमै पाएको केही राम्रो मौकालाई सदुपयोग गर्न नसकेको बताए । उनले अर्को खेलमा फिनिसिङमा ध्यान दिनुपर्ने देखिएको बताए । एनआरटीले इलाम गोल्डकपको च्याम्पियन समेत हो ।
पराजित टोली राजारानीका प्रशिक्षक सविन अधिकारीले आफ्नो खेलाडीहरुले सोचेजस्तो खेल्न नसकेको बताए । ‘फिजिकलीरुपमा टफ रहेको आर्मीलाई हराएको हामी उच्च मनोबलमा थियौं । तर एनआरटीसाग सोचेको जत्तिको राम्रो खेल्न सकेनौं’, उनले टाइब्रेकरमा समेत एनआरटीलाई भाग्यले साथ दिएको बताए ।