हेटौँडा । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट उम्मेदवार बनेकालाई चुनाव चिह्न प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्तिम नामावली सूचीमा रहेकालाई निर्वाचन कार्यक्रम अनुसार शनिबार चुनाव चिह्न प्रदान गरेको हो ।
प्रदेश निर्वाचन कार्यालय बागमतीका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरिएको जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले छ वटा राजनीतिक दलका गरी राष्ट्रिय सभा सदस्यका १५ उम्मेदवारको उम्मेदवारी कायम गरेको छ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमध्ये बागमती प्रदेशमा महिला, अल्पसङ्ख्यक÷अपाङ्गता भएका, दलित र अन्यबाट गरी चार जनाका लागि निर्वाचन हुँदैछ ।
सत्ता गठबन्धनले भागबण्डा गरी नेपाली कांग्रेसबाट, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक एक जना उम्मेदवार बनाएका छन् । यसैगरी नेकपा एमालेबाट चारै क्षेत्रबाट चार जना, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन जना र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट चार जना उम्मेदवार रहनुभएको छ ।
आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै छ । बागमती प्रदेशमा प्रदेश सभा सदस्यको मतभार पाँच हजार ३८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार ५०३ गरी जम्मा १० हजार ३३३ मतभार कायम भएको निर्वाचन आयोगले जनाएको छ ।