मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत प्रमुखसहित चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । तत्कालीन दुई जना प्रमुख, नायब सुब्बा र एक जना लेखापाल दोषी ठहर भएका हुन् ।
तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता, लेखापाल नागेन्द्रप्रसाद चौधरीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।न्यायाधीश टेकनारायण कुँवर, नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गएको बुधबार चारै जनालाई दोषी ठहर गरेको हो । अदालतले चारै जनालाई सजाय निर्धारणका लागि पेश गर्ने आदेश दिएको छ । मालपोत कार्यालयमा रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ साल चैत २८ गते चारै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।