हेटौँडा । हेटौंडाको टिसिएन चौरमा सञ्चालन भैरहेको खेलकुद तथा व्यापार महोत्सवमा सोमबार चर्चित गायक प्रमोद खरेलले आफ्नो सांगीतिक प्रश्तुती प्रश्तुत गरेका छन् । उनको गीत सुन्न दर्शकहरुको भीड लागेको थियो ।

युवा पुस्ताले निकै रुचाएका गायक खरेलले आफ्ना करिब एक दर्जन गीत गाएका थिए । महोत्सवका दर्शकहरुले नाच्दै र गाउँदै उनलाई साथ दिएका थिए । सोमबार खरेलसंगै गायिका सहिमा श्रेष्ठ, गायक असिमकुमार कटुवाल र जादुगर बलराम सरकारको प्रश्तुती रहेको थियो ।

जारी महोत्सवमा मंगलबार लोक गायक पशुपति शर्मा, लोक गायिका ज्योति मगरसहित मनोज गोर्खाली, ध्रुव विस्को, केको सिङ लगायतको प्रश्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा दैनिक दर्शकको उपस्थिती बढ्दो क्रममा रहेको छ ।
प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रश्तुती रहँदै आएको छ । १७ गतेसम्म सञ्चालन हुनेमा महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल हुनेछ । महोत्सव आयोजक समितिका संयोजक समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजना भएको महोत्सवमा सबै क्षेत्रको सहयोग प्राप्त भैरहेको बताए ।
महोत्सवमा करिब २६० वटा विभिन्न स्टल रहेको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उद्यान लगायत राखिएको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।