टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् । टिकटक बन्द गर्ने सरकारी निर्णय बदरको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गर्न लागेका हुन् ।
रिट दर्ताका लागि आफू अदालत परिसरमा पुगिसेको उनले प्रशासनलाई जानकारी दिए । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको उनले बताए । त्रिपाठीले उत्प्रेषण, परमादेश एवं प्रतिषेध लगायतका अन्य उपयुक्त आदेश जारी गरी पाउँ भनी रिट हाल्न लागेको बताए ।सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै गत सोमबार टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।