यस वर्षको हिउँदका शुरुवाती महिनामा औसतभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको आउँदो पुस १५ गतेसम्मको हावापानी आँकलनअनुसार देशभर औसतभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ ।
लुम्बिनी प्रदेशका पूर्वी भाग, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै भूभाग र मधेस प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशमा बाँकी भू–भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । यो अवधिमा तापक्रमसमेत बढ्ने आँकलन छ ।
देशका धेरैजसो भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत र न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ । अधिकतम र न्यूनतम दुवै तापक्रम बढी हुँदा औसतभन्दा बढी गर्मी हुन्छ । हावापानी आँकलन तयार गर्दा नेपालको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागर र हिन्द महासागरमा विकसित हुने प्रणालीको अवस्था तथा अन्तरऋतु परिवर्तनशीलताका कारकहरूलाई समेत मध्यनजर गरिएको विभागले जनाएको छ ।
यसैबीच यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशको सबै क्षेत्र, लुम्बिनी प्रदेशको धेरैजसो क्षेत्र र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर आज बुधवार दिउँसोदेखि गण्डकी प्रदेशको पश्चिमी भू–भागबाट समेत मनसुन बाहिरिएको जानकारी गराएको हो । नेपालको बाँकी भू–भागबाट पनि केही दिनमै मनसुन बाहिरिने विभागले जनाएको छ । यस वर्ष मनसुन अवधिमा सरदर वर्षाको झन्डै ८८ प्रतिशतमात्रै पानी परेको छ । काठमाण्डौसहितका केही ठाउँमा औसतभन्दा धेरै पानी परेको भए पनि विशेषगरी मधेस प्रदेशमा पानी कम परेको हो ।