काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ । चालु आर्थिक वर्ष (आव)२०८०/८१ को पहिलो दुई महिनामा सरकारले ४९ अर्ब २३ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको हो । यस अवधिमा सरकारले ३८ अर्ब ७१ करोड ऋण भने भुक्तानी गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार असार मसान्तसम्म नेपालको ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो । यसमा साउन र भदौ महिनामा सरकारले कुल ४९ अर्ब २३ करो ३२ लाख रुपैयाँ ऋण थपेको छ । सोही अवधिमा ३८ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ ।
नेपालको आन्तरिक ऋण ११ खर्ब ४० अर्ब ५३ करोड र बाह्य ऋण ११ खर्ब ६९ करोड ३३ करोड रुपैयाँ रहेको छ । भदौ मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋणको आंकडा २३ खर्ब माथि पुगेको तथ्यांकमा उल्लेख छ । भदौ मसान्तसम्मको सार्वजनिक ऋण प्रतिव्यक्ति दायित्वका हिसावले ७९ हजार २०१ रुपैयाँ पर्न जान्छ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मा भाग गर्दा सो रकम आएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रवक्ता डिलाराम गिरी पहिलो दुई महिनामा आन्तरिक ऋण बढी उठेको भन्दै यसो हुनुमा आवको सुरुवाती महिनामा ब्याजदर कम भएको अवस्थालाई सरकारले उपयोग गरेको बताउँछन् ।‘अहिले ब्याजदर कम छ, सोहीकारण यो अवस्थालाई सरकारले कम भार पर्ने समयका रुपमा आन्तरिक ऋण उठाइरहेको देखिन्छ,’ उनले भने ।
सरकारले साउन महिनामा १३ अर्ब ६ करोड र भदौ महिनामा ३१ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यस प्रकार दुई महिनाको अवधिमा ४४ अर्ब २६ करोड आन्तरिक ऋण उठाएको छ । बाह्य ऋण भने दुई महिनामा मात्र ४ अर्ब ९७ करोड रुपैयाँ मात्र प्राप्ती भएको छ ।
भुक्तानीतर्फ सरकारले साउनमा २२ अर्ब ७ करोड र भदौमा १० अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी भएको छ । दुई महिनामा कुल ३२ अर्ब ८३ करोड रुपैयाँ साँवा भुक्तानी भएको छ । बाह्य ऋणको भने साउनमा १ अर्ब २३ करोड र भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ बाह्य ऋणको साँवा भुक्तानी भएको छ ।
बाह्य ऋणको साँवा भुक्तानी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ब्याज भुक्तानीमा भने आन्तरिक ऋणतर्फ दुई महिनामा ८ अर्ब ७७ करोड र बाह्य ऋणको ब्याज भुक्तानीमा २ अर्ब २८ करोड रुपैयाँ खर्च भएको छ ।