मकवानपुर । बागमती प्रदेश सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने भएकाे छ । बुधबार पत्रकार सम्मेलन गरेर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले प्रदेश सरकारले तीन दिन विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने जानकारी दिनुभयाे ।
श्रेष्ठका अनुसार संविधान दिवश मनाउने सन्दर्भमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलकोे संयोजकत्वमा संविधान दिवस मूलसमारोह समिति समेत गठन गरिएकाे र प्रदेश सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा भव्यताका साथ मनाउन बिभिन्न कार्यक्रमहरु तयारी गरेको समेत बताउनुभयाे । संविधान दिवस मनाउनका लागि मुख्यमन्त्री जम्मकट्टेलको नेतृत्वमा ४७ सदस्यीय मूल समारोह समिति गठन गरिएको श्रेष्ठले बताउनुभयाे ।
उहाँका अनुसार संविधान दिवशका अवसरमा आउँदो असोज २, ३ र ४ गते प्रदेशका मन्त्रालयहरू, कार्यालयहरु र सार्वजनिक स्थानको विशेष सरसफाई गर्ने, साँझ प्रदेश स्थित सबै मन्त्रालय र कार्यालयहरु र सार्वजनिक एवम सामदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायले दिपावली गर्ने, राष्ट्रिय झण्डा फहराइने छ । यस्तै असोज २ गते स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा मधुमेह तथा रक्तचापको निशुल्क परिक्षण शिविर र हेटौंडामा रक्तदान कार्यक्रम गर्ने, वन तथा वातावरण मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा वृक्षारोपण कार्यक्रम गर्ने तयारी रहेकाे उहँँले बताउनभयाे । यस्तै, असोज ३ गते हेटौंडाको बुद्ध चोकबाट बजार क्षेत्रमा प्रादेशिक विविधता झल्कने गरी झाँकीसहित बाजागाजा गर्ने, मार्चपास तथा प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने कार्यतालिका रहेकाे उहँाले बताउनुभयाे । यस्तै असोज ४ गते विषेश कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने उहाँले बताउनुभयाे ।