काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष चयनका लागि अहिले मतदान भइरहेको छ । अध्यक्षमा पारस खड्का र उमेश पियाको उम्मेदवारी परेको छ ।
पारस काठमाडौंका हुन भने पिया चितवनका । उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर क्षेत्री र भत्तपुरका रुपक रञ्जितले मनोनयत दर्ता गरेका छन् ।
यस्तै सचिवमा ललितपुरका प्रशन्न शाक्य र नुवाकोटका प्रज्वल सापकोटाले मनोनयन दर्ता गरेका छन् ।
महिला सदस्यमा भत्तपुरकी नीरा राजोपाध्यय निर्विरोध भएकी छिन् । उनी महिला टिमकी पूर्व कप्तान हुन् ।
बाँकी ८ सदस्यका लागि १५ जना चुनावी मैदानमा छन् ।
६ जिल्लाबाट २४ र कार्यसमितिको १३ जना गरी कुल ३७ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूको चयनबाट आगामी चार वर्षका लागि १३ सदस्यीय प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको नेतृत्व चयन हुनेछ ।
६ जिल्ला र वर्तमान कार्यसमितिका ७ सदस्यीयले पारसलाई अध्यक्ष बनाउने सर्वसम्मितिसहित यसअघि नै पत्रकार सम्मेलन गरिसकेकाले उनको दाबेदारी बलियो मानिएको छ ।
पत्रकार सम्मेलनमा चितवन र नुवाकोटलाई बाहिर राख्दै बाँकी चार जिल्लाले बाँकी पदमा भागभण्डा गर्ने यसअघि नै सार्वजनिक भइसकेको छ ।