हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तरगत मकवानपुर र बाराको सिमाना स्थित चुरीयामाइ मन्दिर नजिक तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम राजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।
मृत्यु हुनेमा एक जना नेपाली र ६ जना भारतीय नागरिक रहेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयाे । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा अन्य १९ जना यात्रु घाइते भएका छन् । घाइतेकाे हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार २६ जनामध्ये ३ जनाको घटनास्थलमा तथा ४ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरू पशुपतिनाथको दर्शन गरी घर फर्किँदै थिए । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।