प्रतिनिधि सभा बैठकमा भइरहेको अवरोध हटाउन सभामुख देवराज घिमिरेले पहल गर्नुभएको छ । आज उहाँले मुख्य दलका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । आज संसद् बैठक बस्नुअघि उहाँले शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
सभामुख घिमिरेले हिजो पनि सदनको अवरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि सभामुखले आज दिउँसो १२ बजे मुख्य दलका शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।
सत्तापक्षीय दलका सचेतकहरूले सुन तस्करी काण्डको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएका छन् । प्रतिपक्षी दलका सचेतकहरुले भने अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने भएकाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नु अडान लिएका छन् ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेका सांसदले गएको साउन १० गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।