वर्षा यामको सुरुवातसँगै डेंंगी रोगको सङ्क्रमण फैलन नदिन इपिडियमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । महाशाखाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महाशाखाका प्रमुख डाक्टर रुद्र मरासिनीले हप्ताको एक दिन सबै सरकारी कार्यालयहरूमा र व्यक्तिले आफ्नो घर तथा टोलमा सरसफाइ अभियान चलाउन आग्रह गर्नुभयो ।
महाशाखाले डेंगो रोग रोकथामका लागि गत वर्षदेखि आउँदो पुष महिनासम्मका लागि विशेष कार्य योजना बनाई काम गरिरहेको डाक्टर मरासिनीले जानकारी दिनुभयो । अन्तरक्रियामा दिइएको जानकारी अनुसार, यो वर्ष अहिलेसम्म डेंगो रोगका बिरामीको सङ्ख्या करिब १२ सय पुगेको छ भने यो वर्ष डेंगो लागेर एक जनाको मृत्यु भएको छ । सन् २०२२ सम्ममा डेंगोका बिरामीको सङ्ख्या ५४ हजार ७ सय ८४ पुगेको र डेंगोका कारण ८८ जनाको मृत्यु भइसकेको छ ।