पानी परेपछि डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पानी जम्न थालेसँगै डेङ्गीको सङ्क्रमण बढ्न थालेको हो ।
डेङ्गी सार्ने लामखुट्टेले सफा पानीमा फूल पार्छ । यसले गर्दा घरका कौसी, छतमा राखिने पानी ट्याङ्की वा बाल्टिन, टायरमा जमेको पानीमा डेङ्गी फैलाउने लामखुट्टेले फूल पार्छ । यस्तै, घर भित्रका फूलदानी र गमलामा राखिएको पानी पनि लामखुट्टेको सजिलो बासस्थान हो ।
बर्खा लागेसँगै अहिले जतासुकै त्यसै फालिएका टायर वा प्लाष्टिकका भाँडामा पानी जम्न थालेको छ । सफा पानीमा हुर्कने यो लामखुट्टेको आनीबानीका कारण डेङ्गीको सङ्क्रमण बढिरहेकाे किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार गएको पुसयता अहिलेसम्म एक हजार २४ जना डेङ्गीबाट सङ्क्रमित भएका छन् । यो वर्ष सङ्क्रमणबाट सुनसरीमा एक जनाको ज्यान गएको छ ।
महाशाखाका अनुसार काठमाण्डौ ४६, ललितपुरमा १२ र भक्तपुर ३५ जना बिरामी भेटिएका छन् । यस्तै, सबैभन्दा बढी देखिएको दार्चुलामा एक सय ८७, धादिङमा एक सय ३१, सुनसरीमा ७५, कास्कीमा ६६ र म्यादीमा २९ जना डेङ्गीका बिरामी भेटिएका छन् । बर्खायामको यो बेला डेङ्गीबाट जोगिन डा. दाहालको आग्रह छ ।
डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु नै उत्तम उपाय हो । यस्तै, लामखुट्टे र यसको फूल नष्ट गर्न सकिए पनि सङ्क्रमण फैलिन पाउँदैन । त्यसका लागि घरवरिपरि पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न, गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जमेको छ भने त्यसलाई फाल्न डाक्टर दाहालको सुझाव छ ।
उच्च ज्वरो आउनु, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्नु, पिँडौलाको मासु दुख्नु लगायतका लक्षण डेङ्गीका लक्षण हुन् । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा पूरा बाहुला भएका लुगा लगाउन, घरको झ्यालढोकामा जाली राख्न स्वास्थ्य मन्त्रालयको आग्रह छ ।
यस्तै, मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न पनि अनुरोध गरेको छ । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो ।
सन् २००५ मा डेङ्गीका बिरामी भेटिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गीको सङ्क्रमण देखिँदै आएको छ । सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गीको सङ्क्रमण भएको थियो भने त्यहीबेला डेङ्गीबाट ८८ जनाको ज्यान गएको थियो ।