बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि सार्वजनिक गरेको विनियोजित बजेटमाथि छलफल हुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
गत असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आवको लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो । जसमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसअघि उक्त बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपा र नेमकिपाका सांसदहरुले असन्तुष्टि जनाउँदै पटक–पटक अवरुद्ध गर्दै आएको थियो ।









