मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा विस्तार हुने भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा मृगौला प्रत्यारोपण सेवा सुरु गर्न लागिएको अस्पतालका निमित्त मेसु डा.रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
मंगलबार हेटौंडामा आयोजित अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेसु सापकोटाले ६ महिनाभित्र मिर्गाैला प्रत्यारोपण सेवा सुरुहुने जानकारी दिनुभयो । “प्रत्यारोपण सेवा सुरु गर्न अहिले अस्पतालमा पूर्वाधार निर्माणको साथै आवश्यक उपकरण खरिद गरि सेवा विस्तारको जग बसाउने काम भइरहेको छ ।” उहाँले भन्नुभयो । हेटौडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारले ९ करोड रुपैंया अनुदान दिएको थियो । सो रकम उपकरण खरिद र पूर्वाधार विकासमा खर्च गरि प्रत्यारोपण सेवा सुरु गर्न तयारी अवस्थामा रहेको मेसू सापकोटाले बताउनुभयो । प्रदेश सरकारले आगामी आव २०८०÷८१ को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा ४ करोड रुपैंया विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । हेटौडा अस्पतालमा विगत ३ वर्षदेखि डाइलाइसिस सेवा सञ्चालनमा रहेको र हाल मासिक करीब ५० जना मिर्गाैला रोगीले सेवा लिईरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. विश्वराज जोशीले हेटौडामा प्रत्यारोपण सेवा सुरु गर्ने मात्र नभई त्यसलाई निरन्तरता दिने गरि काम भइरहेको बताउनुभयो । सेवालाई निरन्तरता दिन पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनको विषयमा तयारी भइरहेको उहाँले बताउनुभयो । कार्यक्रममा हेटौडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले अंगदानको विषयमा जनचेतना फैलाउनपर्नेमा जोड दिनुभयो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अंगदानबारे जनचेतना फैलाउनुनै अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र नेफ्रोलोजिष्ट डा. शुरेश महर्जनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक डा.श्रेष्ठले नेपालमा ब्रेन डेथ भएका व्यक्तिहरुको अंग प्रयोग गर्न सके हजारौंले पुर्नजीवन पाउने बताउनुभयो । उहाँले नेपालमा वार्षिक १ हजार जनाको बे्रनडेथ हुने गरेको अनुमानित तथ्यांक रहेको बताउदै वार्षिक ८ हजार जना मिर्गाैला र कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था रहेको बताउनुभयो । तर जनचेतनाको कमीका कारण खेर जाने ८ हजार अंगको उपयोग गर्न नसकिएको र हालसम्म नेपालमा जम्मा ५ ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग भएको बताउनुभयो । अंगदानबारे खासै नबुझेकै कारण ब्रेनडेथ भएका व्यक्तिको अंगदानको सवाल निकै जटिल र चुनौतीपूर्ण बनेको बताउनुभयो ।
उहाँले हालसम्म केन्द्रमा १ हजार ७८ जनाको मिर्गाैला प्रत्यारोपण भएको र सबै प्रत्यारोपण शतप्रतिशत सफल भएको बताउनुभयो । सरकारले मिर्गाैला प्रत्यारोपण र डाइलाइसिस दुवै सेवा निशुल्क दिदै आएको छ । उहाँले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तारका लागि जनशक्ति, पूर्वाधार, उपकरण विकासमाको काममा केन्द्र लागिरहेको बताउनुभयो ।
कार्यक्रममा नेफ्रोलोजिष्ट डा. शुरेश साहले विदेशमा ८० प्रतिशत अंग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिहरुको अंगबाट हुने गरेको बताउनुभयो । जीवित व्यक्तिको शरीरबाट अंग झिकेर प्रत्यारोपण गर्नुभन्दा मस्तिष्क मृत्यु भएकाहरुको अंग प्रत्यारोपण गर्दा जोखिम कम हुने भएकाले पनि मस्तिष्क मृत्यु भएकाहरुको अंग उपयोग गर्नेतर्फ जोड दिनुभयो । ब्रेन डेथ भएका व्यक्तिको अंग अर्काे जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ भन्ने कुरा स्वास्थ्यकर्मीहरुलाई समेत थाहा नभएको अवस्था हालको रहेको उहाँले बताउनुभयो । नेपालमा वर्षेनी ३ हजार जनाको मिर्गाैला र १ हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांक रहेको छ । मस्तिष्क मृत्यु भएका एक व्यक्तिको ८ वटा अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिने भएपनि नेपालमा कलेजो र मिर्गाैला प्रत्यारोपण मात्रै भइरहेको छ ।