असार २ गते राती बाट परेको अविरल वर्षाका कारण हालसम्म पाँचथरमा ठुलो क्षति पुगेको छ । जिल्लामा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३ पुगेको छ ।
ज्यान गुमाउनेमा फालेलुङ– ४ की ८ वर्षीय जुना सावदेन, फिदिम – ११ का २८ वर्षीय सन्जोग लिम्बु र हलिहाङ– ७ की २५ वर्षीय एलिशा माझी छन् । बाढीमा परेका हिलिहाङ ७ का ४५ वर्षीय तिलकुमार तामाङ र २७ वर्षीय आशिष माझी ,फिदिम ५ घर भई हाल फिदिम ४ हेँवा खोलामा बस्दै आएका ५५ वर्षीय राजकुमार राई अझै बेपत्ता छन् ।
बाढी पहिरोका कारण जिल्लाका विभिन्न ठाउँमा हाल सम्म १० वटा घर बगाएको छ भने ६१ परिवारका ३ सय जना विस्थापित भएका छन् । विस्थापित परिवारलाई छिमेकी, विद्यालय र स्वास्थ्य चौकीमा राखिएको छ ।
यस्तै जिल्लाको तीन वटा हाइड्रोमा क्षति पुगेको छ । याङवरक – ४ मा अवस्थित रैराङ हाइड्रो पावर , फिदिम – ११ मा अवस्थित १४ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको माउण्टेन बी र फिदिम – १० मा अवस्थित २१ मेगावाटको विद्युत् उत्पादन क्षमता रहेको माउण्टेन ए जलविद्युतमा पूर्ण रुपमा क्षति पुगेको छ ।
जिल्लाका विभिन्न ठाउँमा अवस्थित दर्जनौँ पुलहरू बगाएको छ । ६ वटा पक्की पुल , ८ वटा झोलुङ्गे पुल, १ वटा बेलिबृज र १ वटा फलामको ट्रस्ट बगाएको हो । यस्तै दुई वटा जे.सी.वी. र एक वटा मोटर साइकल पनि बाढीले बगाएको छ । बाढी पहिरोमा परी धेरै मात्रामा पशु चौपाया बगेका छन् भने खोला किनारमा रहेको खेती बाली पनि नष्ट भएको छ ।
याङवरक गाउँपालिका – १ फेदीमा पहिरोमा फसेका १२ जना स्थानीयलाई नेपाली सेनाको हेलिकप्टर द्वारा उद्धार गरिएको छ । उनीहरूलाई च्याङथापु स्थित विष्णु मा.वि.मा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
मेची राजमार्गमा पर्ने हेवा खोलामा पक्की पुल पूर्ण रुपमा क्षति हुँदा पाँचथर र ताप्लेजुङको सम्पर्क विच्छेद भएकाले उक्त स्थानमा बेलिबृज ल्याएर काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निरन्तर वर्षा भइरहेका कारण जिल्लामा अझै क्षति हुन सक्ने र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीका सूचना अधिकारी दिवस कुँवरले जानकारी दिनुभयो ।