अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गरि सदाचारयुक्त समाज निर्माणमा आयोगले काम गरिरहेको बताउनुभएको छ ।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा अख्तियार प्रमुख राईले राष्ट्रिय विकास र सार्वजनिक सेवामा जनताको सरल र सहज पहुँच स्थापित गरी भ्रष्टाचार न्यूनीकरणको लक्ष्य हासिल गर्न आयोगले उपचारात्मक विधिमार्फत प्रयास गरिरहेको जानकारी दिनुभयो ।
प्रमुख आयुक्त राईले कसैप्रति पूर्वाग्रह नराखी संवैधानिक जिम्मेवारी र अधिकार प्रयोग गर्दै भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन र समृद्धि हासिल गर्न आयोग दृढ भएर लागेको बैठकमा स्पष्ट पार्नुभयो ।
बैठकमा आयोगका सचिव रामेश्वर दङ्गालले गएको १० महिनामा २२ हजार ३ सय ५३ उजुरी परेको र त्यसमध्ये १२ हजार ५ सय ९२ उजुरी मात्रै फछ्र्यौट भएको जानकारी गराउनुभयो ।
उहाँले आयोगमा परेका उजुरीका आधारमा २ सय ३० मुद्दाको पुनरावेदन गराएको पनि बैठकमा जानकारी गराउनुभयो ।
निजी क्षेत्रमा हुने भ्रष्टाचार हेर्ने अधिकार नहुँदा पछिल्लो समय निजी क्षेत्रमा भ्रष्टाचार बढेको बताउँदै सचिव दङ्गालले अख्तियार अनुसन्धान सम्बन्धी संसद्मा विचाराधिन विधेयकमा निजी क्षेत्रलाई समेत हेर्ने अधिकार समेटेर तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।
बैठकमा सांसदहरुले अख्तियार अनुसन्धान आयोगले ठूला भ्रष्टाचारीहरूलाई मुद्दा चलाउन नसकेको भन्दै आयोगबाट भइरहेका कामबारे जानकारी माग गर्नुभएको थियो ।