मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका स्थित राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका वासिन्दाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ध्यानाकर्षण गराएका छन् । वर्षौदेखि बसोबास गर्दै आएका स्थानीयवासीलगायत सराेकारवालाले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका कारण भोग्नु परेको समस्याका विषयामा ध्यानाकर्षण गराएका हुन् ।

मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेशकुमार बर्तौलाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री प्रचण्ड, वन तथा तथा वातावरण मन्त्री विरेन्द्रप्रसाद महतो, सचिव रेवती रमण पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी, सचिव दामोदर रेग्मी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसंग छुट्टा छुट्टै भेट गरेर राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका वासिन्दाको समस्याका विष्यामा ध्यानाकर्षण गराईएको टोलीमा सहभागि मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।
भेटमा राष्ट्रिय निकुञ्ज र मध्यबर्ती क्षेत्रले निर्धाण गरेको सिमा हेरफेर एवम् कानुन संशोधन, वर्षौदेखि वसोवास गर्दै आएका स्थानीयलाई लालपुर्जा उपलब्ध गराउने लगायत विषयमा छलफल गरि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराईएको उहाँले बताउनुभयो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय निकुन्ज र मध्यबर्ति क्षेत्रमा परेका समस्यालाई समाधान गर्ने तर्फ आफुले मन्पिरिषद् बैठकमा कुरा राख्ने बताउनुभएको उहाँले बताउनुभयो । यस्तै अन्य मन्त्रीहरुले समेत सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँले जानकारी दिनुभयो ।
प्रतिनिधि मण्डलमा मकवानपुर क्षेत्र नम्बर–१ का सांसद दिपकबहादुर सिंह, जिल्ला समन्वय सुमिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, उपप्रमुख सानुकाजी लुईटेल, पूर्व प्रदेश सांसद सन्तबहादुर चेपाङ, राजाराम स्याङतान, मनहरी गाउँपालिकाका जनप्रतिनिधिहरु, स्थानिय राजनैतिक दलका प्रतिनिधिहरु र राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र संघर्ष समितिका प्रतिनिधिहरुको सहभागिता थियो । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्तीका स्थानीय वासीहरु लामो समयदेखि सो क्षेत्रको समस्याका विषयमा समिति गठन गरेर संघर्ष गर्दै आएका छन् ।