नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । एमाले प्रचार विभागले पार्टी मुख्यालयमा आयोजना गरेको ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति : अबको बाटो’ विषयक अन्तरक्रियामा उहाँले मुलुकको राष्ट्रिय समस्या समाधानका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभयो ।
नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिनका लागि राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास हुने गरेको उहाँको भनाइ छ । उहाँले बलियो राष्ट्रिय राजनीतिक शक्ति स्पष्ट नीति, उद्देश्य, लक्ष्य गन्तव्यमा भएको एमाले मात्र बन्ने बताउनुभयो । महासचिव पोखरेलले एमाले जनताको बहुदलीय जनवादको सैद्धान्तिक आधारमा स्वच्छ प्रतिस्पर्धा गर्ने लोकतान्त्रिक पार्टी भएकाले जनताले रुचाएको बताउनुभयो । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले पूर्ण स्वतन्त्रता सहितको लोकतन्त्रलाई विश्वास गर्ने भएकाले पार्टीका गतिविधिलाई सञ्चार माध्यमबाट सार्वजनिक गर्ने बताउनुभयो ।