मकवाानपुरगढी । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँस तथा निगालोका हस्तासामाग्री निर्माण गर्ने प्रविधि (बाँस काट्ने ईलेक्ट्रिक कटर मेशिन र ड्रिल मेशिन) हस्तान्तरण गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडप्पा) अन्तर्गत बाँस तथा निगालोका हस्तसामाग्री निर्माण सम्बन्धि तालिम लिएर व्यवसाय सुरु गरेका मकपानपुरगढी गाउँपालिका–२ शिखरकटेरीका नागरिकलाई प्रविधि हस्तान्तरण गरिएको हो ।
“सीप सिकौ, आत्मनिर्भर र उद्यमी बनौ” भन्ने मूल नाराका साथ गाउँपालिकाले गत बैशाख १५ देखि जेठ ३ गतेसम्म (२० दिने) बाँस तथा निगालोका हस्तसामाग्री निर्माण सम्बन्धि तालिम संचालन गरेको थियो । तालिममा बाँस र निगालोबाट बन्ने सामाग्रीहरु मुढा, डोको, नाङ्लो, कुर्सी, टेबल, डस्टविन, र्याक लगायतका सामाग्रीहरु बनाउन सिकाइएको थियो । उक्त तालिम पश्चात उद्यम शुरुवात गरेकाीहरुलाई आज एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले प्रविधि (बाँस काट्ने ईलेक्ट्रिक कटर मेशिन र ड्रिल मेशिन) हस्तान्तरण गर्नुभएको हो ।
प्रविधि हस्तान्तरण कार्यक्रममा अध्यक्ष स्याङ्तानले सिकेका सीपहरु व्यवहारमा उतार्न र नयाँ लघु उद्यमी सृजना गर्न प्रविधि हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाको कार्यालय र सवै वडा कार्यालयहरुमा प्रयोग भैरहेको प्लाष्टिकजन्य डस्टवीनलाई हटाएर अब बाँसबाट उत्पादित स्थानीय सामाग्रीहरु प्रयोगमा ल्याउने प्रतिबद्धता समेत जनाउनुभयो ।
मकवानपुरगढी २ नम्बर वडाध्यक्ष बखान सिं पाख्रिनको सभाध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, वडा सदस्य रामप्रसाद चौरेल, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, उद्यम विकास सहजकर्ता प्रतिमा डाँगी लगायतको उपस्थिति थियो ।