नेकपा एमाले केन्द्रीय कमिटी बैठक विभिन्न १६ बुँदे समसामयिक प्रस्ताव पारित गदै आज सकिएको छ । तीन दिनदेखि बसेको केन्द्रीय कमिटी बैठकले लडाकु शिविर घोटालासहित चर्चामा रहेका सबै काण्डको निष्पक्ष छानबिन अघि बढाउन माग गरेको छ ।
यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय गर्न पनि प्रस्तावमा उल्लेख गरिएको छ ।
एमालेले मुलुकको बिग्रिँदो अर्थतन्त्रप्रति गम्भीर हुन, बढेको महँगी, कालो बजारीलाई रोक्न अनुगमनको अभाव भइरहेको भन्दै नागरिकले दिनानुदिन भोगिरहेका समस्यामाथि संवेदनशील हुँदै महँगी नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गरेको छ ।
यसैगरी गर्मी याम लागेसँगै आगलागीका कारण जनधनमा पुगेको क्षतिप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्दै घाइतेको निशूल्क स्वास्थ्योपचार र क्षतिपूर्तिका लागि माग गरिएको छ ।