हेटौंडा । नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्रालय नपाए बागमती प्रदेश सरकारमा सहभागी नहुने अडान लिएको छ । एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण शर्माले यसअघि दाबी गरिएको २ वटा मन्त्रालय नपाए आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका हुन् ।
नेता शर्माले आफ्नो पार्टीले एउटा मात्रै मन्त्रालयमा चित्त बुझाएर सरकारमा सहभागी नहुने दाबी गरे । ‘यसअघि हामीले ३ वटा मन्त्रालय मागेका थियौं। भागवण्डा नमिल्ने भएपछि २ वटामात्रै मन्त्रालय लिन हामी तयार भएका हौं,’ उनले भने, ‘अहिले त्यही २ वटा मन्त्रालय पनि नदिनका लागि विभिन्न प्रपञ्च भइरहेको छ ।’
आफूहरुमाथि जालझेल हुन लागे सरकारमा सहभागी नहुने उनको भनाई छ । ‘दुईवटा मन्त्रालय पनि नपाए हामी सरकारबाट बाहिरिन्छौं,’ उनले भने, ‘जालझेल हुन लागे हामी सरकारमै जादैनौं ।’ साथै, उनले बागमतीको मन्त्रिपरिषद्ले पूर्णता नपाउनुमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलकै कमजोरी रहेको पनि आरोप लगाए ।
‘सत्तामा रहेका दलहरुलाई मिलाएर सरकारमा सहभागी गराउनु पर्ने जिम्मेवारी त मुख्यमन्त्री ज्युको हो । हामीले कांग्रेसले गर्दा ढिलो भयो भन्न मिल्दैन,’ खनालले भने, ‘कसलाई कतिवटा मन्त्रालय दिने भन्ने ठेट निर्णय गर्न नसक्नाले पनि सरकारलाई पूर्णता दिन ढिलो भएको हो ।’ ११ सदस्यीय बागमती मन्त्रिपरिषद्ले हाल ६ वटा मात्र मन्त्री पाएको छ । जसमध्ये नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ मन्त्रालय सम्हालेको छ। कांग्रेसले २ वटा मन्त्रालय लिएको छ ।
गत चैत २६ गते २ मन्त्रालयसहित कांग्रेस बागमती सरकारमा सहभागी भएको थियो। अब बाँकी रहेका ५ मन्त्रालयमा कांग्रेसले ४ र नेकपा एसले २ वटा मन्त्रालयको दाबी छाडेको छैन । रिक्त रहेका मन्त्रालयमध्ये दलहरूले दाबी गरेका मन्त्रालय संख्या बढी भएसँगै मुख्यमन्त्री जम्मकट्टेलले क्याबिनेटलाई पूर्णता दिन सकेका छैनन् । नेपाल खवरबाट ।