मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–४, ट्वाङ्ग्राका लोपोन्मुख वनकरीया समुदायहरु आत्मनिर्भर बन्ने तर्फ उन्मुख देखिएका छन् । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता र सामान्य ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका लोपोन्मुख जाती वनकरीयाहरु अर्गानीक साबुन उत्पादन गरेर आत्मनिर्भर बन्न खोजेका हुन् ।
लोपोन्मुख वनकरीया महिलाले स्थानीय स्तरमा नै पाइने ध्युकुमारी र तितेपातीको प्रयोग गरेर अर्गानीक नुहाउने साबुन तयार पारेका छन् । राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चद्धारा साबुन बनाउने तालिम प्राप्त गरे पश्चात उनिहरुले उत्पादन सुरु गरेका हुन् । मञ्चबाट ३ दिनको तालिम लिएपछि यहाँका २५ जना महिलाहरु साबुन उत्पादन सिपमा दक्ष भई आयआर्जनमा जोडिने अवसर प्राप्त भएको वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले बताउनुभयो ।
साबुन उत्पादन गर्नको लागि आवश्यक औजारहरु समेत मञ्चले प्रदान गरेपछि उत्पादन सुरु गरेका उनिहरु अब आवश्यक कच्चा पदार्थ र बजारीकरणमा अग्रसर देखिएका छन् । आर्थिक अवस्था नाजुक रहेका वनकरीया महिलाहरुको आय आर्जन बढाउन साबुन उत्पादन तथा बजारीकरणमा सहयोग पुग्ने हो भने आत्मनिर्भरताको लागि बलियो अवसर हुने सन्तोषी वनकरियाको भनाई छ । “तितेपाती त पाखा र बगरमा पनि पाइन्छ, ध्यु कुमारी छैन, कहाँबाट कसरी किन्ने भन्ने खोजी गर्दैछौ ।” आत्मानिर्भरताको लागि आफूहरुले पनि हालै मात्रै ध्यु कुमारी लगाएको तर तत्कालको लागि भने किन्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
तालिमको क्रममा उनीहरुले झण्डै ४ सय पिस साबुन बनाएका थिए । जुन अब थोरै मात्रै बाँकी रहेको छ । आगामी दिनमा साबुन उत्पादन गरेपछि त्यसको लागी खोल र ब्राडीङ गर्न चाँही बाँकी रहेको उहाँले बताउनुभयो । साबुन उत्पादनलाई संस्थागत गर्न उनीहरुले वनकरिया महिला विकास संघ नामक संस्थाबाट संस्थागत रुपमा नै अघि बढ्ने तयारी गरेका छन् । “तालिम लिएपछि हामी एकदम खुसी छौ, अब स्थानीय सरकारले पनि केही सहयोग गरिदिए हामीले यसलाई उद्योगको रुप दिन सक्ने थियौ” संघकीे अध्यक्ष माया वनकरीयाले भन्नुभयो ।
उनीहरुले उत्पादिन साबुनको मूल्य निर्धाणर गरिसकेका छैनन्, समूहमा छलफल गरेर आफूहरुको लगात हिसाब गरेर मात्रै मुल्य तोक्ने तयारीमा छौ” उहाँले भन्नुभयो । “लागत मुल्यमा थोरै हाम्रो श्रम जोडेर मूल्य तोक्ने छौ, सुरुमा फाइदाभन्दा पनि हाम्रो उत्पादनको बजारीकरण महत्वपूर्ण छ ।” ध्यु कुमारी र तितेपातीको पेष्ट बनाएर, झण्डै एक घण्टा पकाएपछि त्यसलाई साबुन बनाउने फर्ममा हालिन्छ । मञ्चले समूहको लागि साबुन निर्माणार्थ ५ वटा फर्मा समेत दिएको छ जसमा कुनैमा एक पटकमा ६ वटा साबुन बनाउन मिल्छ भने कुनैमा एकै पटकमा २४ वटासम्म साबुन बनाउन सकिन्छ ।
वर्षौदेखि सुकुम्बासीको रुपमा मकवानपुरको मनहरी गाउँपालिका–४ ट्वाङ्ग्रामा १९ घर लोपोन्मुख वनकरीयाहरुहरुको आफ्नो जग्गा समेत छैन । वनकरीयाहरु यस स्थानमा २०१८ सालदेखि बस्दै आएका छन् । २०६२ सालबाट यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको र यही बसोबास गरेकै स्थानमा सामुहिक लालपूर्जा माग गर्दै आएका छन् । आर्थिक रुपमा विपन्न उनीहरु पर्सा वन्यजन्तु आरक्ष भित्र निहुरो खोजेर बेच्ने तथा ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका छन् । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताले जीविका चलाउन केही सहयोग भए पनि यो समूदायमा स्वास्थ्य, शिक्षालागयत आधारभूत आवश्यकता परिपूर्ति हुन समस्या रहेको छ ।