शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा चर्च ब्वाइजले फ्रेन्ड्सलाई २–१ गोलले हराएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्ट र आशिष चापागाईंले १/१ गोल गरे । फ्रेन्ड्सका बेन क्वान्साले एक गोल फर्काए । जितसँगै चर्च ब्वाइज २४ अङ्कसहित तालिकाकाे दोस्रो स्थानमा पुगेको छ । फ्रेन्ड्स १४ खेलमा १५ अङ्कसहित १२ औँ स्थानमा रहेको छ ।
यस्तै च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई १–० गोलले हराएको छ । हिमालयनकाे जितमा खामिर गिल्सनले गाेल गरे । जितसँगै हिमालयन शेर्पा १७ अङ्कसहित तालिकाकाे आठौँ स्थानमा पुगेको छ । सातदोबाटो २२ अङ्कसहित तेस्रो स्थानमा छ ।