प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त “अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७” र “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७” टेबुल गर्नुभयो ।
यसअघि, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक र राजनीतिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।बैठकको आकस्मिक समयमा सांसदहरुले सडक दुर्घटनाको न्युनिकरण, मानव बेचबिखन गर्नेलाई कारबाही, राष्ट्रिय परिचयपत्र निजी विदेशी कम्पनीलाई दिएको भनी आएका लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले काठमाडौँ विश्वमै फोहर सहरमा परिणत हुँदा क्यान्सरलगायत रोगका बिरामी बढेकाले राजधानीमा प्रदूषणको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्भन्दा बाहिर ‘व्यवस्था उल्ट्याउन खोजेको’ भनी भाषण गर्नुभएको प्रति आपत्ति प्रकट गर्दै यस्ता विषय संसद्मा आएर राख्न सुझाव दिनुभयो । सांसदहरुले राष्ट्रिय«य परिचयपत्र रुजु गर्ने जिम्मा निजी विदेशी कम्पनीलाई दिने निर्णय प्रति आपत्ति जनाउँदै सात दिनभित्र बोलपत्र गरेर गरिएको निजी कम्पनीलाई दिने निर्णय अवैध रहेको बताउनुभयो । यसैबीच, प्रतिनिधिसभाको आजको बैठकले पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । नेपाली काँग्रेसको तर्फबाट वि.स २०१५ सालको आम निर्वाचनमा धनकुटा जिल्लाको साविक क्षेत्र नं २६ बाट निर्वाचित सांसद तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा गत चैत २४ गते शुक्रवार निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक वैशाख ५ गते मङ्गलवार दिउसो १ः०० बजे बस्ने छ ।