हेटाैंडा– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा दोस्रो चरणको पर्यटनमार्ग (ग्रेट ट्रेल) निर्माण कार्य सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले हेलम्बु गाउँपालिकाले सो पैदलमार्ग निर्माण सुरु गरेको हो ।
काठमाडौं, भक्तपुरलगायतका स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ग्रेट ट्रेल निर्माण भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो । वडा नं. ६ र १ को बीचबाट पहिलो चरणको कार्य सुरु गरिएकोमा दोस्रो चरणमा वडा नः ३ को नागिडाँडाबाट सुरु भएको छ । हेलम्बु हिमालयन ग्रेट ट्रेल नामकरण गरिएको सो मार्ग हेलम्बुु–३ बुद्घपार्कबाट सुरु भएर सेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङ्गगुफा, सेमीसिदाङ्ग, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ ।
६० किलोमिटर लामो ग्रेड ट्रेल हेलम्बुको मात्र नभई देशकै गौरवको आयोजना भएकाले यसमा सरकारले लगानी गर्ने हो भने करिब १० वर्षभित्रमा लगानी उठ्ने अध्यक्ष शेर्पाको दाबी छ । नेपालको घुम्नै पर्ने ठाउँमध्ये सिन्धुपाल्चोकको हेलम्बु पनि रहेको र हेलम्बुको पनि ग्रेट ट्रेल निर्माणपछि उल्लेख्य रुपमा पर्यटक भित्रने गाउँपालिकाले बिश्वास लिएको छ । ६० किलोमिटरको ग्रेट ट्रेलमा तीन अर्ब ५० करोेड कुल लागत अनुमान गरिएको छ । धेरै लागत लाग्ने भएकाले स्थानीय सरकारको बजेटले मात्र निर्माण कार्य सम्भव नभएकाले यस आर्थिक वर्षमा संघीय सरकारबाट एक करोड बिनियोजित भएकोले आयोजनालाई गति दिन सहयोग मिलेको अध्यक्ष शेर्पाले बताउनुभयो । पर्यटन प्रवर्धनमार्फत गाउँपालिकालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले पर्यटन मार्ग निर्माण सुरु गरिएको शेर्पाले बताउनुभयो । ‘ठूलो लागत पर्ने भएकाले गाउँपालिकाको बजेटले मात्र सम्भव नभएको भन्दै माथिल्लो सरकारसँग निरन्तर हातेमालो गर्दै पर्यटन मार्ग लगायत अन्य बिकास निर्माणको कामलाई अगाडि बढाउँदै जाने अध्यक्ष शेर्पाको भनाई छ ।
काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्य सिन्धुपाल्चोकको हेलम्बुमा काठमाडौँमा आउने सम्पूर्ण पर्यटकलाई हेलम्बु भित्र्याउने लक्ष्य गाउँपालिकाले लिएको छ । हिउँदमा हिउँले ढाकिने पदमार्ग पर्खाल यात्राका क्रममा पाँचपोखरी, गोसाइँकुण्डका साथै जुगल, गणेश, याङ्ग्री, लाङटाङ माउन्टेन फ्लाइटबाट हेर्न सकिने र ८० प्रतिशत हिमाल देखिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । पर्यटकहरु आकर्षित हुने र धरैभन्दा धरै पर्यटक भित्रिने गाउँपालिकाले विश्वास लिएको छ । पर्यटकको संख्यामा वृद्धि भएपछि होमस्टे, स्थानीय होटल व्यवसाय र स्थानीय कला र संस्कृतिको समेत प्रचारप्रसार हुने र आयआर्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । साथै सो ग्रेड ट्रेलबाट धरैले रोजगारीसमेत पाउनेछन् । चीनपछिको दोस्रो ठूलो ग्रेट ट्रेल भएको हुनाले पनि हेलम्बुमा पर्यटकको लर्को लाग्ने विश्वास गाउँपालिकाले लिएको छ ।
धार्मिक स्थलहरुको अवलोकन
ग्रेट ट्रेल निर्माण सम्पन्नपछि ग्रेड ट्रेल अवलोकन गर्दा हेलम्बुभित्र तथा बाहिर रहेका सम्पूर्ण धार्मिक स्थलहरुको समेत परिक्रमा हुनुका साथै अवलोक गर्न सकिन्छ । हेलम्बुमा रहेका धार्मिक स्थलहरु गेसाइकँुण्ड, छ्यादि ज्यो, भेमथाङ, गुरु रेम्पोछे, गुफा ढुकफुक, आमायाङ्ग्री, मिलारेप्पा क्याफे, पाल्चोकको जय बागेश्वरी मन्दिरको समेत दर्शन गर्न सकिन्छ ।
ग्रेड ट्रेल किन ?
हेलम्बु हुँदै लाङटाङ अनि पवित्रस्थल गोसाइँकुण्ड पुग्ने पदयात्रीलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण जरुरी देखिएको छ । झण्डै १०० किलोमिटर दूरीमा रहेको काठमाडौँको सुन्दरीजल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमागाउँ कुटुम्साङबाट ठाडेपाटी, मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, घ्याङुल, शेर्माथान, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले पनि चलिरहेको छ । सो पदमार्गले गर्दा स्थानीयवासीलाई दैनिक काम गर्नसमेत सहज भएको छ । पदमार्गले सिन्धुपाल्चोक र रसुवा दुवै जिल्लाको पर्यटन प्रवद्र्धनका लागि टेवा पुग्ने गाउँपालिका अध्यक्ष शेर्पाले बताउनसभययो । ग्रेट ट्रेल अवलोकन गर्न जाँदा लोपान्मुख प्रजातिहरुको समेत अवलोकन गर्न पाइनेछ । हेलम्बुमा पाइने, रेडपाण्डा, हिउँचितुवाहरुको समेत अवलोकन गर्न पाइने भएकाले पनि र धरै कुराहरु एकै ठाउँबाट अवलोकन गर्न पाइने भएकाले पर्यटकको एक मात्र गन्तव्य हेलम्बु हुने गाउँपालिकाको आसा छ ।
ग्रेट ट्रेल निर्माणमा सहयोगको खाँचो
ग्रेट ट्रेल निर्माणमा धेरै लागत लाग्ने भएकाले गाउँपालिकाले विभिन्न व्यक्ति तथा संस्थाहरुसँग सहयोगको अपेक्षासमेत गरेको छ । छिटो भन्दा छिटो ग्रेट ट्रेल निर्माण गरी पर्यटकलाई भित्र्याउने हेलम्बुको लक्ष्यलाई सार्थक बनाउनु संघसंस्था, व्यक्ति, अन्य गाउँपालिका तथा नगरपालिकाले सहयोग गरेमा ती व्यक्ति तथा संघसंघस्थाहरुको नाम उल्लेख गरी ग्रेट ट्रेल नजिकै लेख्ने कार्यक्रम तय गरेको गाउँपालिकाले जनाएको छ ।
धर्मचक्र पर्खाल
लामो दूरीका दर्जनौँ पदमार्गलाई पहिलेकै अवस्थामा ल्याउनको लागि गाउँपालिकाले पर्यटकीय पदमार्ग कार्ययोजना बनाएको छ । जसमा लाङटाङबाट हेलम्बु भित्रिने पर्यटकले ह्योल्मो परम्परा, धार्मिकस्थल घुम्दै डुब्कुबाट मेलम्ची खानेपानीको मुहान हेर्ने ‘प्याकेज ट्रेकिङ स्पट’ बनाएर काम थालेको छ । पदमार्ग निर्माणले पवित्रस्थल ‘छुह्यालागेन्जेन’ हेर्ने पर्यटक पनि वृद्धि हुनेछ । ‘छुह्यालागेन्जेन’को अर्थ १०८ पानीको मूल फुटिरहेको बालुवा भएको चौर भएको लामाहरुको भनाइ छ । प्राचीन गुम्बैगुम्बाको शहर शेर्माथान, ह्योल्मो बस्ती हेर्न पाइने मेलम्चीघ्याङ, घ्याङुल, झिचेन मिलारेपा गुफा, ढुक्पु, महागुरु रेन्पोछे छापसम्म एक दर्जन पदमार्ग जोड्दै लगिएको छ पर्खालमा पर्ने पाकेडाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचरोसमेत देख्न सकिन्छ । शेर्पाका अनुसार सम्पदा, प्रकृति तथा पर्यावरणीय दृश्य, जङ्गली जनावर र स्थानीय धर्म, संस्कृति अवलोकन पदयात्रा प्रमुख विशेषता हुनेछन् । रसुवा र नुवाकोटका बस्तीसमेत नियाल्न सकिने पदयात्रा घुम्दा गर्दा हेलम्बु क्षेत्रमा रहेका पूरै धार्मिक तीर्थस्थल परिक्रमा हुने भएकाले गाउँपालिकाले निर्माणाधीन ‘ग्रेट हिमालयन ट्रेल’लाई ‘धर्मचक्र पर्खाल’का रुपमा समेत जोडेको छ । ठाउँ–ठाउँमा पर्यटक बिसौनी हुने पर्खालमा बिछ्याइएको ढुङ्गामा स्थानीय संस्कृति झल्काउने शिलालेख खोप्ने समेत अध्यक्ष शेर्पाले बताउनुभयो ।
विगतमा हस्तकलाबाट पदमार्गको काम हुँदा निर्माण कार्यले खासै गति लिन नसकेकामा हाल ढुङ्गा काट्ने मेसिनसमेत निर्माण पक्षले प्राप्त गरिसकेकाले अब निर्माण कार्यले गति लिने अध्यक्ष शेर्पाले बताउनुभयो । पदमार्ग निर्माणाको क्रममा जंगली जीवजनावरलाई आवतजावतमा अफ्ठयारो नपरोस भन्ने उद्देश्यले विशेष ध्यान दिइने निर्माण पक्षले जनाएको छ । द्रूत गतिमा पदमार्ग निर्माण गरिने योजना अनुरुप संघीय सरकारबाट प्राप्त रकमको छिटै टेण्डर गरि शेर्माथानबाट तेस्रो चरणको निर्माण कार्य सुरु गरिने गाउँपालिकाले जानकारी दिएको छ ।