हेटौंडा। मकवानपुरको इन्द्रसरोवर तालमा बेपत्ता भएका युवकको शव फेला परेको छ । हिजो र्याफ्टिङको क्रममा बेपत्ता भएका काठमाण्डौ दक्षिणकालीका राजकुमार सुवेदीको शव सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार गण काठमाण्डौबाट गएको गोताखोरको टोलीले आज निकालेको हो ।
सुवेदीको शव पानीमुनि ४५ फिट गहिराइमा रहेको अवस्थामा निकालिएको प्रहरीले जनाएको छ । सुवेदी स्थानीयले चलाएको डुंगा चढेकोमा ज्याकेट, जुत्ता र मोबाइल डुंगामै छाडेर तालमा हाम फालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेपाल प्रहरीको टोलीले मंगलबार दिनभर उनको खोजी गरे पनि नभेटेपछि बुधबार सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरेका थिए । शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।