राष्ट्रिय सभाको आजको बैठकले छुट्टाछुट्टै दुई वटा विधेयक पारित गरेको छ । बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ र विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ पारित गरेको हो ।
उक्त विधेयकहरू सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुषालले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएका थियो । राष्ट्रिय सभामा उत्पत्ति भएका उक्त दुवै विधेयकहरू अब प्रतिनिधि सभामा जानेछन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री डा.भुषालले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/२०७९ र लोकसेवा आयोगको त्रीसठ्ठीऔं वार्षिक प्रतिवेदन २०७८/२०७९ पेश गर्नुभयो । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको ब्यहोरा सभामा जनाकारी गराउनु भयो । राष्ट्रिय सभाको अर्को बैठक यही चैत २७ गते सोमवार दिउसो १ बजे बस्ने छ ।











