पेरिसमा हुने ओलम्पिकका लागि महिला फूटलबको एशिया क्षेत्रको छनोट प्रतियोगिता आगामी चैत २० देखि २८ गतेसम्म नेपालमा हुने भएको छ । पहिलो चरणको छनोट प्रतियोगिता नेपालमा हुने तय भएको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरिएपछि समूह ‘सी’ को छनोट प्रतियोगिता नेपालमा गर्ने एएफसीले तय गरेको हो ।
प्रतियोगितामा नेपालले पहिलो चरणमा भियतनाम र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो चरणको समूह विजेता टोली दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछ । उत्तर कोरिया, अस्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया दोस्रो चरणमा पुगिसकेका छन् । दोस्रो चरणमा तीन समूहमा विभाजित गरेर प्रतिस्पर्धा गराइनेछ । दोस्रो चरणमा तीन समूहका विजेता टोली र उपविजेतामध्ये उत्कृष्ट टोली तेस्रो चरणमा प्रवेश गर्नेछ । तेस्रो चरणको छनोट प्रतियोगिताबाट उत्कृष्ट दुई टोली सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकका लागि छनोट हुनेछन्।