काठमाडौँ । नवगठित प्रतिनिधि सभाको पहिलो बैठकलाई आज शीर्ष नेताहरूले सम्बाेधन गर्नुभएकाे छ । प्रतिनिधि सभाको पहिलो बैठकलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउने गरी संसद्ले काम गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसद्मा हुने भएकाले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले परम्परागत राजनीतिक अभ्यासले मात्र नागरिकको चाहना पूरा नहुने भन्नुहुँदै सबै सांसदहरु जनताको निरन्तर निगरानीमा रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नयाँ दल र सांसदहरु संसद्को पुँजी भएको भन्नुहुँदै नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले संसद्लाई सार्थक संवादको थलो बनाई जनताले गौरव गर्ने गरी राष्ट्रको आवश्यकताका आधारमा विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा राख्नुभयो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र लोकतन्त्रको सबलीकरणका लागि विशेष योगदान गर्न सांसदहरूलाई आग्रह गर्नुभयो । सभापति देउवाले संसद्को ठूलो दल नेपाली काँग्रेस भएकाले आफूहरू संसद्मा रचनात्मक रुपमा प्रस्तुत हुने र जनताका मुद्दाहरूलाई सशक्त रुपमा उठाउने बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य हुनुपर्ने बताउनुभयो ।
यस्तै बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हितका लागि सबै पार्टीहरू एकताबद्ध भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य गरी सुशासन प्रवर्द्धन गर्नेतर्फ दलहरू लाग्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले यो सरकार न्यूनतम साझा कार्यक्रम अनुसार अगाडि बढ्ने भन्नुहुँदै संविधान र लोकतन्त्रको रक्षाका लागि महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संसदमा नयाँ दलको प्रतिनिधित्व हुनु निराशाको नभई नयाँ आशाको केन्द्र भएको बताउनुभयो । गृहमन्त्री लामिछानेले आफूले सरकारमा गएर जनताको आवश्यकतालाई प्राथमिकताका साथ उठाउँदै भ्रष्ट्राचार नियन्त्रणमा कटिबद्ध भएर लाग्ने उल्लेख गर्नुभयो । गृहमन्त्री लामिछानेले सरकारका काम, कारबाहीलाई पारदर्शी बनाई जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सरकारको साझा न्यूनतम कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले एउटा राजनीतिक दलमाथि पूर्ण रुपमा विश्वास गर्न नसकेको भन्नुहुँदै सबै दल र सबै विचार मिलेर मात्र यो देशको निकास हुनसक्ने बताउनुभयो । अध्यक्ष लिङ्देनले आफ्नो पार्टी राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा दृढताका साथ उभिने बताउनुभयो ।
बैठकमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादवले संविधानले निर्दिष्ट गरेका प्रावधानलाई कार्यान्वयन गर्दै प्रदेश सरकारलाई सक्षम बनाउन अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राख्नुभयो । नेता यादवले संघीय निजामती सेवा ऐन चाँडै जारी गर्नुपर्ने र नागरिकता नपाएका नेपाली नागरिकहरूलाई तत्काल नागरिकता दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्रको संरक्षण गर्दै समाजवादको लक्ष्यमा जानुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले जनताले मुलुकमा राजनीतिक स्थायित्व चाहेको भन्नुहुँदै सुशासनको प्रत्याभूति हुने काम गर्न सकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै बैठकमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले जनताका छोराछोरी शासनको सर्वोच्च पदमा पुग्ने लोकतान्त्रिक व्यवस्थाको संरक्षण र संवर्द्धनका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । अध्यक्ष राउतले लोकतन्त्र ल्याउनका लागि अथक प्रयास गर्ने अग्रजहरूप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्नुभयो ।
बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले राज्यले गरेका सम्झौताको पूर्ण कार्यान्वयन र संविधानलाई पूर्णता दिने विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जिता श्रेष्ठले आफ्नो पार्टीका नेता रेशम चौधरी लगायतलाई लगाइएको आरोप निराधार भएको भन्दै न्याय दिनुपर्ने धारणा राख्नुभयो । बैठकमा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा नेपालका नेता चित्रबहादुर केसीले नेताहरू बोलीमा भन्दा पनि व्यवहारिक रुपमा सादगी हुनुपर्ने भन्नुहुँदै सत्ता स्वार्थ नभई सुशासन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै बैठकमा सांसदहरु डा. अमरेश कुमार सिंह, प्रभु शाह र योगेन्द्र मण्डलले आफ्नो धारणा राख्नुभएको थियो ।
त्यसअघि बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा सभाका ज्येष्ठ सदस्य जबराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा पुष्पकमल दाहाल प्रचण्डको नियुक्ति तथा मन्त्रीपरिषद् गठनसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनुभयो । प्रतिनिधि सभाको नियमावली नबनेसम्मका लागि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम कामकारबाही गर्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यस्तै बैठकले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतीक्षा तिवारी, बुद्धिमान तामाङ, रामकृष्ण यादव, सुशीला सिर्पाली ठकुरीलाई मनोनयन गरेको छ । यसैबीच प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका पूर्व सदस्य मैयाँदेवी श्रेष्ठ, संविधान सभा सदस्य द्वय बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ ।