मकवानपुर – कृषि, पर्यटन, उद्योग र व्यापार क्षेत्रको विकासबाट मकवानपुरको समृद्धि हुने आज हेटौंडामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मदन भण्डारी फाउण्डेशन मकवानपुरद्धारा आयोजित “मकवानपुर समृद्धिको सम्भावना र यस्का आधारहरु” विषयक विचार संकलन गोष्ठीमा सहभागि वक्ताहरुले मकवानपुरको समृद्धिका लागि कृषि, पर्यटन, उद्योग र व्यापारसंगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा सहभागि वक्ताहरुले सार्वजनिक, निजी र सहकारी क्षेत्रको अर्थपूर्ण सहभागिताको माध्यमबाट द्रुत आर्थिक विकास गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न सबैले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भएको थियो । वक्ताहरुले मकवानपुरको समृद्धिका सम्भावनाहरुको बृहत अध्ययन गरि वर्तमान परिपेक्ष अनुसारको एकीकृत विकास योजनाको संभाव्यता तयार गर्नुपर्नेमा जोड दिएका थिए ।

मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि पौडेलले भौतिक विकासलाई मात्र विकास मान्न नहुने धारणा राख्नुभयो । उहाँले भौतिक विकाससंगै सामाजिक, आर्थिक, सास्कृतिक, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकास भए मात्र समृद्धि हुने बताउनुभयो । यसका लागि विकासको मोडल परिर्वतन गर्नुपर्ने साथै वर्तमान परिवेशमा रहेर सम्भावनाहरुको खोजि गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाले समृद्द मकवानपुर निर्माणका लागि सबैकाे याेगदान हुनु पर्ने बताउनुभयाे । उहाँले स्थानीय तहले यसमा विशेष भुमिका खेल्नु पर्नेमा जाेड दिनुभयाे । यस्तै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले कृषि र पर्यटकाे विकासबाट राेजगारी सृजना गरेर मकवानपुरलाइ समृद्ध बनाउन सकिने बताउनुभयाे । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले मकवानपुरमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएकाले पर्यटन क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै नेपाल रेडक्रस सोसाईटि मकवानपुरका अध्यक्ष सूर्यचन्द्र न्यौपानेले समृद्धिका लागि रोजगारी सृजना हुने खालका गतिविधिहरु हुन आवश्यक रहेको कुरामा जोड दिनुभयो । यस्तै अधिवक्ता मदनकुमार दाहालले राज्यबाट जिल्लामा कति स्रोत उपलब्ध भईरहेको छ त्यसले समृद्धिमा असर गर्ने बताउनुभयो । उहाँले जिल्लाको समृद्धिका लागि पर्यटन र शिक्षा क्षेत्रमा व्यापक परिर्वतन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै नागरिक समाजका तर्फबाट बुद्धशरण लामाले यस अघि बनेका योजनाहरुलाई कार्यान्वयन गर्न सके मात्र पनि मकवानपुर समृद्ध हुने धारणा राख्नुभयो । मकवानपुरलाई औद्योगि क्षेत्र र शिक्षाको हव बनाउन सबैले भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो । यस्तै गैसस मकवानपुरका अध्यक्ष डा कृष्ण धितालले मकवानपुरको समृद्धिका लागि हेटौंडाको सकड चौडा हुनुपर्ने, विश्वविद्यालय, एयरपोर्ट, हस्पिटललगायत संरचना निर्माण हुनु पर्ने, अध्ययन र अनुसंधानको क्षेत्रमा विकास हुनु पर्नेलगायतको धारणा राख्नु भएको थियो । यस्तै साहित्याकार ह्याग्रीब आचार्यले साहित्य र कला क्षेत्रको विकासले मकवानपुरलाई समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँले कृषि क्षेत्र र धार्मिक पर्यटन प्रबद्र्धनका लागि सबै स्थानीय तहमा बहस र छलफल जरुरी रहेको औल्याउनुभयो ।

कार्यक्रममा होटल व्यवसायि भगिरथ शर्माले समृद्धिको पर्याय पर्यटन भएको बताउनु हुँदै कृषि क्षेत्रको विकास गर्नुका साथै पर्यटनको बजारीकरणमा समेत ध्यान दिन जरुरी रहेको बउल्लेख गर्नुभयो । यस्तै नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भिम पाख्रिनले जिल्लाको समृद्धिका लागि युवाको मुद्धा र लागु औषध नियन्त्रमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । गोष्ठीमा सहभागि वक्ताहरुले मकवानपुरको समृद्धिका लागि राजनितिक, सामाजिक, आर्थिक, सांकृतिक, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा फाउण्डेशन मकवानपुरका सचिव बोलबहादुर कार्कीको संयोजकत्वमा अधिवक्ता मुकुन्द अधिकारी र तुलसी रिजालको समितिबाट लिखित “मकवानपुर समृद्धिको सम्भावना र यस्का आधारहरु” विषयक कार्यपत्र अधिवक्ता अधिकारीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका राजनैतिक, औद्योगिक, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, गैरसरकारीलगायत क्षेत्रका सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेकाे थियाे ।