नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गरेको हो । नेपालले मध्यान्तर अघिको खेलमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि रश्मिकुमारी घिसिङले गोल गरेकी हुन् । मध्यान्तरपछिको खेलमा नेपाल र भारतका तर्फबाट गोल गर्ने प्रयास भएका थिए । दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतमा नेपाल फाइनलमा पुग्न सफल भयो ।
नेपाली टोलीको कप्तानी एन्जिला तुम्बाप्पो सुब्बाले गरेकी थिइन् । नेपाली टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ डेङ्गुका कारण खेल्न सकिनन् । नेपालले फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरेको हो ।