प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रदेश र प्रतिनिधिसभा चुनावमा बहुमत आउनबाट रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले जति प्रयास गरे पनि नेपाली जनता आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दाबी समेत गर्नु भयो ।
लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेको नीति र संगठनमा आबद्ध भएर मात्रै देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकीर समेत गर्नु भयो । सेना र प्रहरी समेत नेकपा एमालेको नेतृत्वमा मात्रै देश अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप समेत लगाउनु भयो । उहाँले भन्नुभयो, ‘यति साह्रो गठबन्धन किन बनाउनु पर्यो ? आफ्नो आफ्नो चुनाव लडेर सरकार हुन्थ्यो तर उहाँहरुलाई एमालेले बहुमत ल्याइहाल्छ अनि सरकार के मिलेर बनाउने ? । त्यसकारण एमालेलाई बहुमतबाट रोक्नका लागि अहिले सबै प्रयास भएका छन् । यो गठबन्धन, सठबन्धन सबै एमालेलाई बुहमतबाट रोक्नका लागि हो ।’