हेटौंडाः मकवानपुर प्रहरीले अवैध लागुऔषध ओनेरेक्स १ सय एमएलको १३ बोतलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–२ का ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ का ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ की २६ वर्षीय आहाना भन्ने अल्बिना तामाङ र हेटौंडा–१२ की २५ वर्षीय ईशा घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार साँझ ६ बजेर ३० मिनेटको समयमा विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–४ चिल्ड्रेनपार्कस्थित चौतारी होटलमा सुरक्षाजाँच गर्दा राजेश श्रेष्ठको साथबाट लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ । उक्त लागुऔषधको बारेमा सोधपुछ गर्दा चारै जना मिली ल्याएको हो भनि बताएको हुँदा उक्त लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
भन्सार छलि ल्याएको अबैध कपडा प्रहरी नियन्त्रणमा
प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छलि ल्याएको अबैध कपडा नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार राति ११ बजेको समयमा सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे स्थित सडक खण्डमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा ५ ख २४६८ नम्बरको यात्रुबाहक बसलाई रोकी सुरक्षा जाँच गर्ने क्रममा अबैध कपडा फेला पारेको थियोे ।
बसको डिकी र छतमा गरी ७ बोरामा विभिन्न प्रकारको कुर्ता सुरुवाल ५८ पिस, साडी २९३ पिस, र सेन्डो गन्जी ३०० पिस फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त कपडाहरुको बारेमा बसको चालकसँग र बसमा सवार यात्रुहरुलाई सोधपुछ गर्दा कोही कसैले हक दाबी नगरेकोले सो कपडाहरु बेबारिसे भएको र भन्सार छलि ल्याएकोले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।