नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गर्दै आज ४४ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पुष्पलालले विसं २००६ वैशाख १० गते नेपालमा पहिलोपटक कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो । उहाँले चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नुभएको थियो । नेकपा खोल्नुभन्दा अगाडि विसं १९९८ मा उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभएको थियो ।
कम्युनिष्ट पार्टीको स्थापनापछि पुष्पलालले साम्यवादी विचारधाराको प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभएको थियो । त्यसपछि उहाँले कम्युनिष्ट पार्टीलाई एकिकृत गर्दै संगठित गर्नुभएको थियो । पुष्पलाललाई नेपालमा माक्सवादी विचार फैलाउने प्रथम व्यक्तित्व र जनवादी क्रान्तिको कार्यक्रम अघि सार्ने सिद्धान्तकारका रुपमा लिने गरिन्छ । राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ समेत रहनुभएका उहाँ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो । पुष्पलालको व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उहाँले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिनुभएन । नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहनुभयो । अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उहाँले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गर्नुभएको छ । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालको स्मृति दिवस अवशरमा नेकपा (एमाले) ले केन्द्रीय तहमा कामनपा वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले क.पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम विहान ८ बजे हुने कार्यालय सचिव डा.भीष्म अधिकारीले वताउनुभयो ।